Wednesday, July 22, 2015

थेसिस लेखनका विकृति


27 Feb 2014 
सन् २०१३ मा जर्मन शिक्षा मन्त्रीले बौद्धिक चोरीको आरोपमा आफ्नो पिएचडी उपाधि नै गुमाइन्। सन् २०११ मा जर्मनकै रक्षा मन्त्रीको पिएचडी थेसिस मौलिक अनुसन्धान नभएर चोरी गरिएको भन्ने आरोप लाग्यो। जुन आरोपका कारण ती मन्त्रीले पदबाटै हट्नुपर्यो ।
जनवरीमा मस्को टाइमले छापेको समाचारअनुसार त्यहाँका एक व्यक्तिले आफ्नो पिएचडी थेसिसमा ९९ दशमलव ३२ प्रतिशत अन्य स्रोतबाट चोरी गरेको र ० दशमलव ६८ प्रतिशत मात्र मौलिक काम समावेश गरेकेा भेटियो। उल्लिखित समाचारहरुले थेसिस लेखनमा हुने ‘प्लेजरिजम' अर्थात् बौद्धिक चोरीको भयाबह रूपलाई मात्र इंगित गर्दैन। मौलिक अनुसन्धान गरी शोधपत्र तयार गर्नु कति कठिन छ भन्ने पनि बुझाउँछ र विद्यार्थीलाई मौलिक सिर्जनाका लागि अभिप्रेरित हुन आँखा खुलाउँछ। 
त्रिभुवन विश्वविद्यालयमा गुणस्तर सुधारको बहस चर्किरहेको छ। हालै प्रारम्भ भएको सेमेस्टर प्रणालीलाई विश्वविद्यालय सुधारको एउटा खुट्किलो मान्नेहरुको कमी छैन। तर त्रिवि सुधारको नाममा सैद्धान्तिक बहस गर्न जति सहज छ व्यावहारिकरूपमा कार्यान्वयन गर्न त्यत्तिकै कठिन। गुणस्तरीय शिक्षालाई मापन गर्ने आधार भनेको विद्यार्थीमा प्राप्त प्रयोगात्मक र अनुसन्धानात्मक ज्ञान हुन्। तीनघण्टे जाँचमा त जान्नेले भन्दा घोकेर अथवा चोरेर लेख्नेले बढी अंक प्राप्त गर्न सक्छ। अनुसन्धानात्मक ज्ञान दिनका लागि त्रिविका अधिकांश विभागले मास्टर्स तहमा शोधपत्र लेखन अनिवार्य बनाएका छन् तर यो शोधपत्र लेखन विसंगति र विकृतिको एउटा पर्याय बन्न पुगेको छ। जुन सुधारका लागि रणनीतिकरूपमा अघि बढ्नु जरुरी छ।
हुन त मैले प्राध्यापनको लामो अनुभव सँगालेको छैन। बितेका २ वर्षमा जाली परेका सडकहरु पार गर्दै धेरै पटक कीर्तिपुर आउजाउ गरेको र केही विद्यार्थीको थेसिस गाइड भएको कारण मात्र म यस विषयमा लेख्न प्रेरित भएको पनि होइन। ‘थेसिस बिक्रीमा छ' भन्ने आसयका विज्ञापनहरु ठाउँठाउँमा देखेपछि नै यस क्षेत्रको विसंगतिले मलाइ छोएको हो। रत्नपार्कदेखि कीर्तिपुरसम्म विद्यार्थी ओहोरदोहोर गर्ने बाटामा बोल्ड गरिएको कालो अक्षरमा यस्तो विज्ञापन टाँसिएको छ। अधिकांश विज्ञापनमा एउटा थेसिसको मूल्य ५ हजारदेखि ७ हजार रुपियाँ तोकिएको देखिन्छ। 
मिडिया तथा अन्य क्षेत्रले त्रिविका शिक्षकहरुलाई अक्षम र विद्यार्थी तथा विश्वविद्यालयप्रति गैरजिम्मेवार छन् भन्ने आरोप विगतदेखि नै लगाउँदै आएका छन्। राजनीतिक दलका विद्यार्थी संगठनले पनि शिक्षकहरुको दोहोलो काट्दै आएका छन्। सबै संकाय र विभागको वकालत गर्न त म सक्दिन तर समाजशास्त्र विभागमा प्राध्यापकहरुको क्षमतामा प्रश्न उठाउनुपर्ने अवस्था देखिँदैन। हुन त यी आरोपप्रति पूर्वाग्रही हुनु पनि जरुरी छैन। किनकि विरोधले नै त सुधार निम्त्याउने हो। यहाँ छुटेको कुरा के छ भने विद्यार्थीलाई सुधार्नेतर्फ कसैले झक्झक्याएको छैन। जबसम्म विद्यार्थी आफैँ मौलिक सिर्जनाका लागि तयार हुँदैन, शोधपत्रको गुणस्तर सुधार र बौद्धिक चोरी हटाउन निकै कठिन हुन्छ। 
कम्तिमा ६–७ जना विद्यार्थीसँगको नियमित संगतबाट मैले केही अनुभव सँगालेकी छु। यी विद्यार्थीले त्रिविमा थेसिस लेखनको यथार्थ बुझाउन सबैको प्रतिनिधित्व नगर्लान् तर एउटा ठूलै समूहको प्रतिनिधित्व भने अवश्यै गर्छन्। अघिल्लो दिनसम्म दुई लाइन नेपालीमा समेत शुद्ध नलेख्ने र अंग्रेजीमा लेखिएका शिक्षण सामग्री पल्टाउनै नसकेको भन्ने विद्यार्थीले भोलिपल्ट ‘म्याम मैले अंग्रेजीमा लेख्ने निधो गरेँ' भनिन् र रातारात अंग्रेजीमा थेसिस तयार पारिन्। कसरी सम्भव भयो? अर्को एक विद्यार्थी यस्तो भेटियो जो थेसिस पुनर्लेखन गर्न दिएको सुझावलाई कुनै वास्ता नगर्ने तर फोन र मेसेजबाट ‘मेरो थेसिस किन एसेप्ट नभएको हो? मेरा साथीहरुले त मैलेभन्दा ढिलो सुरु गरेका थिए डिफेन्स पनि भैसक्यो भनेर प्रश्न गर्ने। अर्को विद्यार्थीको भनाइ यस्तो थियो– ‘म्याम बच्चा सानो छ महिलाको समस्या महिलाले बुझिदिनुपर्योे।' उनको सानो बच्चा हुनाले फोनबाट सरसल्लाह गर्न सकिएला। इमेलबाट कम्युनिकेसन गर्न सकिएला तर थेसिसको गुणस्तरमा भने सम्झैाता हुन सक्दैन नि। 
एक विद्यार्थीले अलिकति घुमाउरो पारामा धम्की दिइन्– ‘म्याम लोकसेवाको जाँच दिँदैछु। के थाहा अधिकृत नै भइन्छ कि, आज थेसिसमा मात्र हाम्रो सम्बन्ध होइन नि।' गत चैतमा तिनको अन्तिम मौका थियो थेसिस सक्नुपर्ने। डिफेन्समा सुधारका लागि सुझाव दिँदै एक महिनामा पुनः थेसिस शिक्षकलाई देखाउने भनियो। उनले न सम्पर्क गरिन् न त थेसिसमा कुनै सुधार नै गरिन्। एकैचोटी थेसिस बाइन्ड गरेर डिमार्टमेन्टमा बुझाइछन्। कार्यालय सहायकले ‘म्यामले हेर्नुभएको थेसिस छ, साइन गर्नुपर्यो्' भने। सुझावअनुसार एक अक्षरै सुधारिएको थिएन। 
गएको आइतबार एक विद्यार्थीले कम्तिमा दश पटक फोन गरिन्। यही चैतमा उनले थेसिस बुझाउनुपर्ने अन्तिम समय रे। पहिलो पटक भेट्दा नै उनले थेसिस प्रपोजल तयार गरेकी थिइन्। थेसिस गाइडको यसमा सल्लाह नै छैन। तिनी चाहन्थिन्, मैले हेर्दै नहेरी उनको थेसिस प्रपोजल स्वीकृत गरौं र अबको एक महिनामै थेसिस पास गरौं । मैले असमर्थता जनाएपछि उनले मलाई अर्को थेसिस गाइड खोज्ने जानकारी दिइन्। थेसिस लेखनका निम्ति विद्यार्थीसामु चुनौती नभएका होइनन्। थुप्रै समस्या र चुनौती छन्। अहिले वार्षिक परीक्षा प्रणालीमा दुई वर्षे कोर्स पूरा गरेपछि मात्र थेसिस लेखन सुरु गर्ने चलन छ जसले शिक्षक विद्यार्थी अन्तरक्रियामा समस्या उत्पन्न गराएको छ। सेमेस्टर प्रणाली सुरु भएपछि कम्तिमा पनि दोस्रो सेमेस्टरबाट थेसिस लेखन प्रारम्भ गराउने हो भने विद्यार्थीको समय पनि बचत हुनसक्छ र शिक्षक विद्यार्थीको अन्तरक्रिया पनि प्रभावकारी हुनसक्छ। 
थेसिस लेखनमा देखिएको समस्यामा विद्यार्थीमात्र जिम्मेवार छैनन्। त्रिवि प्रशासन पनि उत्तिकै दोषी छ। त्यहाँ आवश्यक स्रोत सामग्री अभाव छ र भएका सामग्रीमा पनि सहज पहुँच छैन। त्रिवि केन्द्रीय लाइब्रेरी कीर्तिपुरमा हाल पढाइ भइरहेका कैयौं पुस्तक र सन्दर्भ सामग्रीको एकप्रतिसम्म पनि उपलब्ध छैन। नियमित पढाइ भइरहेका पाठ्यपुस्तकसम्म पनि लाइब्रेरीमा नरहनु लाजमर्दो विषय हो। त्रिविले हरेक विभागलाई पाठ्यक्रममा समावेश किताव तथा जर्नलको सूची लाइब्रेरीलाई दिने र लाइब्रेरीले तत्काल ती पुस्तकहरु किन्ने व्यवस्था गर्नुपर्छ। विद्यार्थीको मागबमोजिम पनि पुस्तक उपलब्ध गराउने व्यवस्था गर्नुपर्छ। यसो भएमा लाइब्रेरी पनि अपडेट हुन्छ र शिक्षक विद्यार्थीले पनि अध्ययन सामग्री प्राप्त गर्छन्। विज्ञान संकायका केमेस्ट्री, फिजिक्स, जुलोजी र बोट्नीलगायतका विभागमा अध्ययन गर्ने विद्यार्थीको समस्या अझ बढी छ। त्यहाँका प्रयोगशाला र उपकरण ४ दशक पुराना छन्। यस्तो जीर्ण प्रयोगशालामा प्रयोगात्मक ज्ञान दिएर एक्काइसौं शताब्दीको अनुसन्धान सम्भव छ? त्यसैले विज्ञानका विद्यार्थीले पनि मौलिक अनुसन्धानात्मक थेसिस उत्पादन गर्न सकेका छैनन्।
यसैगरी हाल नेपालमा शिक्षण संस्थामा आबद्ध नभएकाले पनि थेसिस गाइड गर्न र एक्सटर्नल बन्न पाउने परिपाटी छ। खासगरी सरकारी अधिकारीहरुको यसमा संलग्नता हुँदै आएको छ। यो परिपाटी अन्त गर्नुपर्छ। अर्थात् विद्यार्थीको थेसिस गाइड गर्ने अधिकार प्राध्यापनमा संलग्न व्यक्तिलाई मात्र दिइनुपर्छ। थेसिस लेखनमा सबैभन्दा ठूलो समस्या बौद्धिक चोरी नै हो। हुन त बौद्धिक चोरी नेपालको मात्र समस्या होइन तर अन्य देशले यो समस्या व्यवस्थापन गर्न धेरै प्रक्रिया अघि बढाइसकेका छन्। नेपालमा भने यसतर्फ सोचाइ नै छैन। यहाँ कतिले थेसिस किन्छन् र कतिले पहिलेको कपी गर्छन् भनेर छानविन गर्ने हो भने डरलाग्दो वास्तविकता भेटिन सक्छ। जहाँ विद्यार्थीहरु महिनौँसम्म एक अक्षर नै सुधार गर्दैनन् त्यहाँ थेसिसको गुणस्तरीयता कायम गर्नु त यसै पनि चुनौतीपूर्ण छँदैछ। यो चुनौती हल गर्न प्रत्येक विद्यार्थीले आफ्नो थेसिसको डिजिटल कपी लाइब्रेरीमा बुझाउने र लाइब्रेरीले उक्त कपी तुरुन्तै अनलाइमा राख्नुपर्छ। थेसिस बिक्रीमा भन्ने विज्ञापन गर्नेहरुलाइ शैक्षिक अपराधअन्तर्गत कार्बाही गर्नुपर्छ।
विचार

No comments:

Post a Comment