Sunday, July 19, 2015

आदिवासी चलचित्रसम्बन्धी देशव्यापी अन्तरक्रिया कार्यक्रम उपलब्धीमूलक रहेको निष्कर्ष

काठमाडौं । आदिवासी जनजाति चलचित्रको महत्व र बजार विस्तार विषयक देशव्यापी अन्तरक्रिया कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । बुटवल, पोखरा, रामेछाप, काठमाडौ र मोरङमा सम्पन्न अन्तरक्रिया कार्यक्रमलाई क्रमश मगर चलचित्र संघले बुटवलमा, गुरुङ फिल्म एसोसिएसन नेपालले पोखरामा, सुनुवार कलाकार तथा चलचित्रकर्मी समाजले रामेछापमा, नेपाल आदिवासी जनजाति चलचित्र महासंघले काठमाडौमा र लिम्बु चलचित्रकर्मी संघले मोरङमा आयोजनाको जिम्मा लिएको थियो । देशव्यापी अन्तरक्रिया कार्यक्रमको आवश्यकता किन भन्ने प्रश्नमा नेपाल आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृत सुनुवार बताउछन् की यसको प्रमुख उदेश्य भनेको आदिवासी जनजाति चलचित्रको बारेमा राज्य र सम्बन्धित समुदायको नेतृत्वलाई ध्यानाकर्षण गराउनु हो । संख्यात्मक हिसावले आदिवासी चलचित्रहरुको उल्लेख्य मात्रामा निर्माण भएपनि हाम्रो समुदायले चलचित्रको बजार नबुझेको अध्यक्ष सुनुवारको गुनासो छ । वास्तवमा आदिवासी चलचित्रले मुलुकको आर्थिक, सामाजिक र पर्यटकीय रुपमा ठूलो योगदान पुर्याएको तर यसको सही मुल्याङ्कन कतैबाट पनि नभएकोले यस्ता अन्तरक्रिया कार्यक्रमहरुको अपरिहार्यता भएको बताउछन् ।

यसैबीच गत आषाढ १९ गतेका दिन राजधानीमा सम्पन्न एक दिने अन्तरक्रिया कार्यक्रम ऐतिहासिक र फलदायी भएको विश्लेषकहरु बताउछन् । नेपाल आदिवासी जनजाति चलचित्र महासंघले आयोजना गरेको उक्त कार्यक्रममा सहभागीहरुको खचाखच भीडले चलचित्र विकास बोर्डको प्रेक्षालय हलमा अनौठो रौनक देखिन्थ्यो । कार्यक्रमको प्रमुख आतिथ्य सुचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले गरेका थिए । मन्त्री रिजालले आदिवासी चलचित्रकर्मीहरुको माग र छलफललाई सकारात्मक रुपमा लिदै जुनसुकै सहयोगको लागि पनि आफू तत्पर रहेको जनाउ दिएका थिए ।

कार्यक्रममा काठमाडाँै, तनहुँ, पोखरा, बुटवल, काभ्रे, नुवाकोट, धादिङ, रामेछाप, सुर्खेतलगायत ठाउँबाट चार सय बढी मातृ जातीय संगठनका प्रतितिधीहरु, पत्रकारहरु, नेपाल आदिवासी जनजाति महासंघका प्रतिनिधिहरु साथै चलचित्र विकास वोर्डका नवनियुक्त अध्यक्ष राजकुमार राई र अन्य सदस्यहरु समेतको उपस्थिती रहेको थियो । कार्यक्रममा निर्देशक नवीन सुब्बाले आदिवासी जनजाति चलचित्रको बजार विस्तार र महत्व विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । उनले विभिन्न देशका उदाहरणहरु समावेश गर्दै अव नेपालमा पनि राज्यले आदिवासी जनजाति चलचित्रलाई विशेष महत्वका साथ लिनुपर्ने कुरा कार्यपत्रमा उल्लेख गरेका थिए । यसै कार्यक्रमको अवसर पारेर नेपाल आदिवासी जनजाति चलचित्र महासंघले पचास जना आदिवासी जनजाति चलचित्र प्रशिक्षार्थीलाई प्रमाणपत्र पनि वितरण गरेको थियो । 

मातृसंस्था, जनजाति महासंघ, हलवाला, सरोकारवाला र चलचित्रकर्मीलाई लक्षित गरेर देशव्यापी आयोजना गरेको यस अन्तरक्रिया कार्यक्रमले उल्लेखनीय उपलब्धी हासिल गरेको आदिवासी जनजाति मातृभाषी चलचित्र प्रबद्र्धन समिति संयोजक तथा मगर चलचित्रकर्मी संघ अध्यक्ष युवराज मास्की बताउछन् । उनका अनुसार यस कार्यक्रमले सबैमा चेतना जगाउने काम गरेको छ भने मातृभाषी चलचित्र संस्थाहरुमा चलचित्रसंग सम्बन्धित विविध पक्षहरुमा बैचारिक बहस सुरु हुन थालेको छ ।

No comments:

Post a Comment